




अष्ट्रेलियन एड र आड्रा अष्ट्रेलियाको आर्थिक सहयोग रहेको कृषि तथा जीविकोपार्जन प्रवर्द्धन (GOAL II) परियोजना अन्तर्गत आड्रा नेपालले रोल्पा जिल्लाको रुण्टीगढी गाउँपालिकामा स्थानीय साझेदार ग्रामिण विकास तथा चेतना समाज (RUDAS) नेपालसँगको साझेदारीमा जुलाई २०१९ देखि जुन २०२४ सम्म कार्यान्वयन गर्दै आएको छ । यस परियोजनाको मुख्य उद्देश्य भनेको रुण्टीगढी गाउँपालिकामा भएका अति गरिब तथा विपन्न महिलाहरुको सशक्तिकरण गरी उनीहरुका आम्दानी बृद्धि गराउनु हो ।
स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु विशेष गरी मौसमी तथा बेमौसमी तरकारीको सहज र व्यवस्थित सामूहिक बजारीकरणका निम्ति स्थानीय सरकारसँगको सहकार्यमा रुण्टीगढी गाउँपालिकाको होलेरीमा कृषि हाट बजार यहि जुलाई १५, २०२३ मा उद्घाटन गरिएको थियो । यस होलेरी कृषि हाट बजार प्रत्येक हप्ताको दुई दिन (शनिबार र मंगलबार) सञ्चालन हुने गर्दछ साथै यहाँ नजिकै रहेका स्थानीय बजारहरु (भिंग्री प्युठान, भालुवाङ्ग दाङ्ग) र ठूला बजार (नेपालगञ्ज, बुटवल, घोराही, र तुल्सिपुर दाङ्ग) का व्यापारीहरु तरकारी संकलन र खरिद गर्न आउने गर्दछन् । यस कृषि हाट बजार सञ्चालन भएको पहिलो दिनमा नै करिब ३०० देखि ३२० क्विन्टल ताजा तरकारी व्यापारीहरु मार्फत् अन्य जिल्लाहरुमा बिक्री गरिएको तथ्याङ्क रेकर्ड गरिएको थियो । यहाँ स्थानीय गाउँपालिका सँगको सहकार्यमा बजार व्यवस्थापन समितिले व्यापारी र किसानहरु बिच छलफल र सहमतीमा प्रतिष्पर्धात्मक तरिकावाट तरकरीको मुल्य निर्धारण गर्ने गरिएको छ । यस कृषि हाट बजार सञ्चालनमा आएपछि किसानहरुले उत्पादन गरेका तरकारीहरुको उचित मुल्य पाउनुको साथै कृषि उपजहरुको मुल्य निर्धारण गर्न खरिदकर्ताहरुसँग खुलेर वार्ता गर्न पनि सक्षम भएका छन् ।

कृषि हाट बजारमा तरकारी सङ्कलन र खरिद गर्नका लागि बाहिरबाट धेरै व्यापारी र खरिदकर्ताहरु आउन थालेपछि स्थानीय बिक्रेताहरुको एकाधिकार कम भएको स्थानीय कृषकहरुले बताउने गर्दछन् । बजारमा माग अनुसारको गुणस्तरीय कृषिजन्य वस्तुको राम्रो मुल्य निर्धारण भई उचित मुल्य पनि पाउने भए पश्चात्त किसानहरु पनि गुणस्तरिय तरकारी सुरक्षित तरिकाबाट ढुवानी गरी बजारमा ल्याउने तर्फ सचेत भएका छन् । कृषि हाट बजारको दिगोपन र निरन्तर सञ्चालनका निम्ति बजार व्यवस्थापन समितिलाई स्थानीय सरकार र परियोजनाबाट नियमित रुपमा समिक्षाका साथ सहजीकरण गरिएको छ ।



