


दुर्गम क्षेत्रमा स्वास्थ्य शिविरहरूको आयोजना गर्न निकै चुनौतीपूर्ण हुनसक्छ । शिविर सञ्चालन गर्न जानुभएका हाम्रा परियोजनाका टोलीहरूले हिउँद-वर्षा, हिमपात, टायर पंचर, र बिजुली नियमित रूपमा कटौती भइरहने जस्ता चुनौतीपूर्ण अनुभवहरू व्यक्त गर्नुभयो । शिविरमा जानुभएका हाम्रा टोलीले वर्षौदेखि प्रजनन् स्वास्थ्यबाट सङ्घर्ष गरिरहेका महिलाहरूको भावुक अनुभव सुनाउनुभयो ।
आड्रा नेपालद्वारा जाजरकोटको भूकम्पबाट प्रभावित क्षेत्रहरूमा दुईदिने अस्थायी एकीकृत प्रजनन् स्वास्थ्य शिविर आयोजना गरिएको थियो । उक्त दुई दिने शिविरहरूमार्फत हामीले नलगाड नगरपालिकाको तल्लु बगर र कैनामा सञ्चालन गरी स्थानीय महिलाहरूलाई अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्यौँ । आसपास गाउँका महिलाहरू २-३ घण्टा पैदल यात्रा गरेर सो शिविरमा सहभागी भएका थिए ।
विगत लामो समयदेखि स्त्रीरोग सेवाको पहुँचबाट बन्चित भएका सयौँ स्थानीय महिलाहरू सो शिविरमा सहभागी भई विशेषज्ञ परामर्श सेवा प्राप्त गर्न निकै उत्साहित थिए ।



आड्रा सञ्जाल, संयूक्त राष्ट्र जनसंख्या कोष (UNFPA), तथा अष्ट्रेलियन राजदूतावासको आर्थिक सहयोगमा आड्रा नेपालद्वारा स्वास्थ्य शिविरहरू सञ्चालन गरिएको थियो । उक्त शिविरहरूबाट सामान्य स्वास्थ्य जाँच, परिवार नियोजनका सेवाहरू, मनोसमाजिक परामर्श, स्क्रिनिङ्ग, उपचार, तथा पाठेघर खस्ने, र पाठेघरको मुखको क्यान्सको औषद्यीहरू जस्ता सेवाहरू प्रदान गरिएको थियो । उक्त आर्थिक सहयोगमा तेस्रो श्रेणीका पाठेघर खस्ने समस्या भएका तथा शल्यक्रियाको लागि सिफारिस गरिएका विरामीहरूको सम्पूर्ण लागत पनि समावेश गरिएको छ । आड्राले आगामी दिनहरूमा भूकम्पबाट प्रभावित अन्य क्षेत्रहरूमा पनि थप एकीकृत प्रजनन् स्वास्थ्य शिविरहरू आयोजना गर्ने लक्ष्य राखेको छ ।
आड्रा नेपालका जोखिम व्यवस्थापन परियोजनाका संयोजक डा. सुमन रावल भन्नुहुन्छ, "हामीले विगतका दिनहरूमा भूकम्पबाट प्रभावित समुदायहरूमा आपतकालीन आश्रय सामाग्रीहरू र जाडोबाट बच्ने न्यानो सामाग्रीहरू प्रदान गरेका थियौँ, सोही समुदायमा विशेषज्ञ सहितको प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गराउनु उपलब्धिमूलक रहयो । सरकारद्वारा प्रदान गरिएका निर्माण सामाग्रीबाट बनाइएका अस्थायी टहराहरूले गाउँका छानाहरू निलो देखिन थालिएको छ भने यस्ता टहरा भित्र जाडोमा अझै पनि चिसो नै रहने गरेको छ । स्थानीय नगरपालिका तथा मेयरसँगको भेटघाटपछि हामीले यी प्रभावित समुदायहरूले सामना गरिरहेका नयाँ चुनौतिहरूको बारेमा अझै जानकारी पायौँ । उहाँहरूको भनाइ अनुसार धेरै मानिसहरूले जीविकोपार्जन तथा बढ्दो गरिबीको सामना पनि गरिरहरेका छन् ।"


आयोजित दुईदिने शिविरमा ९०० भन्दा बढी महिला, पुरूष तथा बालबालिकाहरूको सक्रिय सहभागिता रहेको थियो जसमा अधिकांशले सामान्य स्वास्थ्य परीक्षण गराएका थिए । यसबाहेक थप २०३ महिलाहरूले परिवार नियोजनको सेवा, १२५ महिलाहरूले पाठेघरको मुखको क्यानसरको परीक्षण, र २५१ महिलाहरूले पाठेघर खस्ने समस्याको स्किनिङ्ग गराएका थिए । यी मध्ये ५ जना महिलाहरूले पाठेघरको शल्यक्रियाको लागि थप अनुदान प्राप्त गर्नुहुनेछ ।
संयूक्त राष्ट्र जनसंख्या कोष (UNFPA), अष्ट्रेलियन राजदूतावास, र आड्रा सञ्जालहरूलाई आर्थिक सहयोगको निम्ति हामी धन्यवाद दिन चाहन्छौँ ।