

आड्रा नेपालले साना दुग्ध उत्पादक कृषकहरूको लागि कृत्रिम गर्भधान अभिवृद्धि (TERAI) परियोजना मार्फत नेपाल सरकारका गाई प्रजनन् कार्यक्रम तथा सेवामा सम्लग्न भएका कर्मचारीहरूको दक्षता विकास गर्न पाँच दिने तालिमको आयोजना गर्यो । उद्घाटन समारोहको अवसरमा आड्रा नेपालले यस कार्यक्रमका प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवती रमन पौडेललाई ५० वटा जर्सी गाईको भ्रूण हस्तान्तरण गर्नुभयो । यस TERAI परियोजना अन्तर्गत रोयल जर्सी एग्रिकल्चर एण्ड हर्टिकल्चर सोसाइटीसँगको सहकार्यमा आड्राले बेलायतबाट ५० वटा जर्सी गाईको भ्रूणहरू आयात गरेको छ । आयात गरेका जर्सी गाईको भ्रूणहरू चितवनका सरकारी पी.पी.आर.एस. फार्म लगायत जिरी र पोखराका विभिन्न फार्महरूमा वितरण गरिनेछ । भविष्यमा नेपाल सरकारको दुग्ध उत्पादन वृद्धिको योजनाहरूमा उक्त भ्रूणहरूले आवश्यक सहयोग पुर्याउनेछ ।


यस कार्यक्रमको उद्घाटन समारोहमा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह-सचिव डा. सूर्य प्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद्का पशुपक्षी तथा मत्स्य पालन विभागका निर्देशक, डा. धोजराज खनाल, पशुसेवा विभागका महानिर्देशक डा. उमेश दहाल, राष्ट्रिय पशुपक्षी प्रजनन् कार्यालय पोखराका प्रमुख, डा. जगदीश पाण्डे, कृषि तथा मत्स्य विश्वविद्यालय, भेटनेरी विज्ञान तथा मत्स्य विभागका प्राज्ञिक डिन डा. दिपेश क्षेत्री, र राष्ट्रिय पशु अनुसन्धान कार्यक्रमका संयोजक देवी अधिकारी पनि अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै, सो कार्यक्रमको अवसरमा राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानका प्रमुख, राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगञ्जका प्रमुख, तथा राष्ट्रिय गाई प्रजनन् अनुसन्धान कार्यालय रामपुरको बैज्ञानिकहरूको पनि सहभागिता रहेको थियो ।