Search
Close this search box.

आड्रा नेपालका बोर्ड समिति सदस्यद्वारा GOAL II परियोजनाको अनुगमन भ्रमण ।

लुम्बिनी प्रदेशको रोल्पा जिल्लाको रुण्टीगढी गाउँपालिका र प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकामा सञ्‍चालित "कृषि तथा जीविकोपार्जन प्रवर्द्धन" (GOAL II) परियोजनाको अनुगमन भ्रमणमा सहभागी हुनभएका आड्रा नेपाल बाोर्ड समितिका सदस्य पास्टर उमेश पोखरेललाई स्वागत गर्न पाउँदा हामी हर्षित थियौँ । उहाँ सँगै लुम्बिनी प्रदेशको रोल्पा र प्युठान जिल्लाको भ्रमणमा आड्रा नेपालका देशीय निर्देशक श्री टम पिनन् र जीविकोपार्जन टिम लिडर कविर रत्‍न स्थापित सहभागी हुनुभयो । यस भ्रमणको मुख्य उद्देश्य GOAL II परियोजनाको क्रियाकलापहरुको कार्यान्वयनको प्रगति, प्रभाव, सिकाइ उपलब्धिहरुको अनुगमन तथा मूल्याङ्कन साथै लाभग्राही तथा सरोकारवालाहरू विशेष गरी स्थानीय सरकारका प्रतिनिधिहरुसँग अन्तरक्रिया मार्फत उनीहरुको प्रतिक्रिया संकलन गर्नु थियो । भ्रमण अघि आड्रा नेपालका वरिष्ठ परियोजना अधिकृत श्री पूर्णलाल श्रेष्ठले परियोजनाको संक्षिप्त परिचय र वर्तमान अवस्थाको बारेमा छोटो परिचयात्मक प्रस्तुति गर्नुभएको थियो । भ्रमणका क्रममा अनुगमन टोली परियोजनाको प्रक्रिया, प्रभाव, सिकाइ, र स्थानीय सरकारहरूसँगको सहकार्य र समन्वयमा परियोजनाको प्रयास अनुगमनमा केन्द्रित हुनुभयो । अनुगमनमा रहनुभएका टोलीले लाभग्राहीहरू, परियोजना टोली, स्थानिय साझेदार संस्थाहरूका प्रतिनिधिहरू, तथा नगरपालिका र गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि र विषयगत शाखाका कर्मचारी प्रतिनिधिहरुसँग भेटघाट गर्नुभयो । साथै उहाँहरूद्वारा दुवै जिल्लाहरूमा परियोजना मार्फत सञ्‍चालित क्रियाकलापहरु जस्तैः तरकारी तथा बाख्रापालन व्यवसाय, सिंचाइ योजनाहरु, कृषि संकलन केन्द्रहरु, बाख्रा डिपिङ्ग पोखरीहरु, र स्थानीय तहहरूसँगको समन्वय सहकार्यमा हुदै आएका जीविकोपार्जन उपक्षेत्रगत योजनाहरुको स्थलगत अवलोकन गर्नुभयो । भ्रमणको क्रममा स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरूले GOAL II परियोजनाद्वारा कृषि तथा बाख्रा पालनको व्यवसायीकरण, प्राविधिक सहयोग, कृषि जन्य उत्पादन विशेष गरि तरकारीको बजारीकरण, भौतिक पूर्वाधार मर्मत तथा निर्माण र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) को क्षेत्रहरुमा सकारात्मक सुधार ल्याउनमा पुर्‍याएको योगदानको निम्ति सराहना गर्नुभएको थियो । परियोजनाको सफलतामा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने समस्त परियोजनाका टोली, कार्यान्वयनमा संलग्न स्थानिय साझेदार संस्थाहरू तथा सरोकारका निकायहरू विशेष गरी स्थानीय नगरपालिका र गाउँपालिकालाई अनुगमन टोलीले प्रशंसा सहित धन्यवाद दिनुभयो ।

कृषि तथा जीविकोपार्जन प्रवर्द्धन (GOAL II) परियोजना अष्ट्रेलियन सरकार र आड्रा अष्ट्रेलियाद्वारा आर्थिक सहयोग गरिएको हो । यस परियोजनालाई आड्रा नेपालले फुलबारी एकीकृत ग्रामिण विकास संस्था नेपाल (FIDRO Nepal) प्यूठान र ग्रामिण विकास तथा चेतना समाज नेपाल (RUDAS Nepal) रोल्पासँग को साझेदारीमा जुलाई २०१९ देखि कार्यान्वयन गर्दै आएको छ । यो परियोजनाले प्यूठानको स्वर्गद्वारी नगरपालिका र रोल्पाको रुन्टीगढी गाउँपालिकाका महिलाहरूको सशक्तीकरण तथा विपन्न वर्गका मानिसहरूको आयआर्जन वृद्धि गर्ने लक्ष्य राखेको छ ।